सार्कबारे मेरो मोदीसँग कुरा भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क सम्मेलन आयोजना गर्ने विषयमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको बताएका छन्।
‘हामी सार्क गतिशील बनाउने पक्षमा छौँ’, ओलीले भने, ‘पाकिस्तानमा सरकार परिवर्तन भयो। अघिल्लो प्रधानमन्त्रीसँग मैले कुरा गरेको थिएँ। विभिन्न विकल्पमा जाने कुरा भएको थियो। मैले सार्कलाई पुन: गतिशील बनाउने विषयमा छलफल गरेको थिएँ। मोदीसँग पनि कुरा गरेको छु।’
प्रधानमन्त्री ओलीले बिमस्टेकमा सहभागी हुन आएका मोदीसँग द्विपक्षीय वार्तासमेत गरेका थिए।
सांसद नारायण खड्काले सार्कको विकल्प बिमस्टेक हुन नसक्ने धारणा राखेका थिए। साथै भारतका पूर्व विदेश सचिव जयशंकरले पाकिस्तानले सार्क ब्लक गरेकाले विकल्पका रुपमा बिमस्टेक अगाडि बढाउने धारणा राखेको प्रधानमन्त्रीलाई जानकारी दिएका थिए।
उनले पाकिस्तानले ग्रेटर साउथ एसियाका रुपमा इरान, अफगानिस्तान, चीन र पाकिस्तान समेटेर अगाडि बढ्न खोजिरहेकोसमेत उल्लेख गरेका थिए।
ओलीले जवाफमा बिमस्टेक र सार्क फरक क्षेत्रीय संगठन रहेको दाबी गरे। उनले सार्कले नेपाललाई नोक्सान नगरेको बताए। ‘सार्कले हामीलाई नोक्सान गरेको छैन’, ओलीले भने, ‘फाइदा गरेको छ। तर, वाञ्छित उपलब्धि लिन सकेनौं होला। त्यसलाई विस्थापित गर्न बिमस्टेक आएको होइन। सार्क स्थगित भएपछि बिमस्टेक सुरु भएको होइन।’
त्यस्तै सांसद राजेन्द्रकुमार केसीले पनि सार्क सम्मेलनका दौरान पनि उर्जा सम्झौताको फ्रेमवर्कमा हस्ताक्षर भएको र बिमस्टेकमा पनि उर्जा सम्झौता भएको उल्लेख गरेका थिए।
जवाफमा ओलीले बिमस्टेकको समझदारी प्रसारण लाइनमा भएको बताएका थिए। ‘उर्जा क्षेत्रको सहरकार्य र पावर ग्रिडको एमओयू फरक र बेग्लै स्तरको कुरा हो’, ओलीको भनाई थियो।
Source:Setopati.com